माप्यदुधकोशी गाउँपालिकामा ३ दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न

Health Camp/ media coverage/

सोलुखुम्बु । माउन्टेन शेर्पा फाउन्डेसन सोलुखुम्बुद्धारा माप्यदुधकोशी गाउँपालिकामा आयोजीत निशुल्क स्वास्थ्य शिविरमा ५६० जनाले सेवा लिएका छन । माप्यदुधकोशी प्राथमिक अस्पतालमा मंसिर १२ गतेदेखि १४ गतेसम्म सञ्चालित शिविरमा ५६० जनाले निशुल्क सेवा लिएका हुन ।

माप्य दुधकोसी गाउँपालिकाका ७ वटै वडाका नागरिकलाई लक्षित गरि स्त्रीरोग, दन्तरोग साथै हाडजोर्नि तथा नसा सम्बन्धि समस्या भएका बिरामीहरुको उपचार गरिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।
भौगोलिक विकटताको कारण स्वास्थ्य उपचारमा जान नपाएका, आर्थिक अवस्था कमजोरी भएका पालिकाका स्थानियलाई प्रत्यक्ष रुपमा स्वास्थ्य उपचार गराउने उद्धेश्यले ३ दिनसम्म सञ्चालित स्वास्थ्य शिविरमा ७ जना अनुभवि तथा विज्ञ डाक्टरको टोलिले सेवा प्रदान गरेको माउन्टेन शेर्पा फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष पासाङ शेर्पा पिनासाले बताउनुभयो ।


अध्यक्ष शेर्पाका अनुसार हाडजोर्नि सम्बन्धि डाक्टर सचिन्द्र जोशि, स्त्रीरोगको लागि डा. सुजता महर्जन, दन्तरोगको लागि डा. समिक्षा ढकाल, नसा सम्बन्धि डा. आबसना राजभण्डारी, डा. आशिष लिम्बु, डा. उपमा कार्की र डा. बुद्ध भण्डारीको टोलिद्धारा उपचार गराइएको थियो ।

तीन दिने निशुल्क स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निशूल्क वितरण गरिनुको साथै स्वस्थ्य जिवनयापनका लागि परामर्श समेत प्रदान गरिएको थियो । अध्यक्ष शेर्पाका अनुसार स्त्रीरोग सम्बन्धि १२० जनाले सेवा लिएका छन । यस्तै दन्तरोग सम्बन्धि १५० जना, हाडजोर्नि तथा नसा सम्बन्धि ३०० जनाले निशूल्क सेवा लिएका छन ।

आज भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरव राईले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै माउन्टेन शेर्पा फाउन्डेसनले गाउँपालिकाको लागि ठूलो सहयोग गरेको उल्लेख गर्दै धन्यवाद व्यत्त गर्नुभयो । उहाँले सिधा नागरिकको समस्यासँग जोडिएको कार्यक्रम स्वास्थ्य शिविर प्रभावकारी रहेको बताउदै आउने दिनमा पनि समन्वय गर्दै अघि बढ्ने बताउनुभयो ।

माउन्टेन शेर्पा फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष पासाङ शेर्पा पिनासाले आफनै ठाउँका नागरिकलाई सेवा दिन पाएकोमा खुशी व्यत्त गर्दै स्थानियको सहजताका लागि वार्षिक रुपमा यस किसीमको कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

माप्य दुधकोशी गाउँपालिकासँगको समन्वयमा शेर्पा सपोर्ट फाउण्डेसनको आर्थिक सहयोगमा माउन्टेन शेर्पा फाउन्डेसनले ३ दिने निशूल्क शिविर सञ्चालन गरेको हो । गाउँपालिकाले आयोजक संस्था माउन्टेन शेर्पा फाउन्डेसन र शिविरमा खटिएका ७ जना डाक्टरको टोलिलाई सम्मान गरेको छ ।