४५० पर्यटन मजदुरलाई राहत

media coverage/

हिमाल समाचार 

काठमाण्डौँ – निषेधाज्ञाको मारमा परेका पर्यटन मजदुरलाई माउण्टेन शेर्पा फाउण्डेशनले राहत वितरण गरेको छ । कोरोनाको दोस्रो चरणको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाबाट प्रभावित बनेका काठमाण्डौमा रहेका ४५० जना पर्यटन मजदुरलाई फाउण्डेशनले राहत वितरण गरेको हो ।

कपन खरिबोटबाट हरेक मजदुरलाई एक बोरा चामल, ५ केजी दाल, ५ केजी आँटा, २ लिटर खाने तेल र एक केजी नुन वितरण गरिएको फाउण्डेशनका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । फाउन्डेसनको तर्फबाट मंगलबार १५० जना र बुधबार ३ सय जना मजदुरलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।

पर्यटन क्षेत्रमै मजदुरी गरेर जिविका निर्वाह गर्ने श्रमिकहरुलाई सरकारबाट कुनै राहतको व्यवस्था नभएको हुनाले आफ्नो समुदायको लागि आफैले केही गर्नुपर्छ भन्ने सोचले एकदेखि डेढ महिनासम्म पुग्ने खाद्यान्न वितरण गरेको उनले बताए ।

राहत पाएपछि मजदुरहरुको मुहारमा छाएको खुसीले थप सन्तुष्टि र उर्जा प्रधान गरेको अध्यक्ष शेर्पाले बताए ।अध्यक्ष शेर्पाले भने, ‘अप्ठ्यारोमा परेका पर्यटन मजदुर हुनुहुन्छ भने खबर गर्नुहोस्, हामी राहत उपलब्ध गराउछौ ।’